माल्दिभ्सबाट सिंगापुर गए श्रीलंकाका राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष माल्दिभ्सबाट सिंगापुरतर्फ उडेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।केही समय उनी सिंगापुरमै बस्न सक्ने श्रीलंका सरकारको एक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले समाचार दिएको हो ।

राजपक्षले बुधवार राजीनामा दिने भने पनि संसद्का सभामुख यापा अबेवर्दनाले राष्ट्रपतिबाट राजीनामापत्र नपाएको बताएका छन् । उता सरकारविरोधी प्रदर्शनकारीहरूले कब्जामा लिएका सबै सरकारी भवनबाट आफूहरू निस्कने बताएका छन् ।

विरोधकर्ताहरू शनिवार राष्ट्रपति राजपक्षको निवास पुगेर त्यसमा कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि छिरेका थिए ।

बुधवार श्रीलंकाका राजनीतिक नेताहरूले सर्वदलीय बैठक गरी संसद्का सभामुखलाई कार्यवाहक राष्ट्रपति बनाउने निर्णय लिएका छन् । बहालवाला कार्यवाहक राष्ट्रपति विक्रमसिंघेलाई पदबाट राजीनामा दिन भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार