‘घाँसी’ कविता भानुभक्तले लेखेकोमा शंका छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसी कुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यति बेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पाल्ने बनारस जस्तो ठाउँमा चल्ने कुरा हो ।’

उनले थपे, ‘भानुभक्तले वर पिपलको छायाँमा बसेर घाँसी लेखे कि बनारसमा मोतीराम भट्टले लेखे शंका गर्ने ठाउँ छ । भानुभक्तका धेरै रचनाको संकलन मोतीराम भट्टमार्फत भएको छ । मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरु भक्तिको दृष्टिले हेर्थे । परम गुरु मान्थे । त्यसैले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइन्छ ।’

ओलीले भानुभक्तको सबैभन्दा ठूलो योगदान रामायणको अनुवाद भएको बताए । ‘उनको महत्त्वपूर्ण कुरा भनेको रामायणको अनुवाद । यो चैँ भानुभक्त आफैँले गरेको हो । यसको रचना केही तनहुँमा भयो केही जेलमा भयो ’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार