युवतीलाई भारतमा बेच्न खोजेको आरोपमा पर्साबाट १ जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् ।

घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाएर काठमाडौंबाट वीरगञ्ज लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । माइती नेपालको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६ बाट २२ वर्षीया युवतीलाई भारततर्फ लिएर हिँडेका घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

असार २७ मा काठमाडौंमा भेटेर उनले बीरगञ्ज बसपार्क लगेका हुन् । युवतीलाई उनले प्रहरीले चेकपोस्टमा सोधेमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नु भनेर सिकाएको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार