६८ प्रतिशत कर्जा घरजग्गा धितोमा, कृषि क्षेत्रको कर्जा २० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १३ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको जेठमा कर्जा प्रवाह २४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव १ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

गएको वर्षको जेठ मसान्तमा घरजग्गा धितोमा ६५ दशमलव ७ प्रतिशत र चालु सम्पत्तीमा १३ प्रतिशत धितोमा कर्जा प्रवाह भएको थियो । यस्तै, चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव १ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९ दशमलव ६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव ६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार