संविधान विपरीत भइरहेका गतिविधि सहन नसक्ने वामदेवको चेतावनी

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए ।

आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए ।

सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधान विपरित भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार