शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण

मानिसको बसोवासजस्तो देखिँदैन । वरिपरि घाँसपात उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्रावास भवन । छात्रावासको बाहिरी आवरण जस्तो देखिन्छ भित्र पनि त्यस्तै छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना छन् । हावाहुरी चल्दा भित्रै धुलो पस्ने अवस्था छ । त्यहाँ बस्ने विद्यार्थी पनि डराइ डराइ बस्नुपर्ने अवस्था छ । “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ”, विद्यार्थी उद्धव पोखरेलले भने ।

नयाँ भवन बन्न लागेको भनी आफूहरूलाई जानकारी आएकाले त्यही अनुसार अहिले पुरानै भवनमा भए पनि गुजारा चलाउने गरेको धर्मशास्त्र तेस्रो वर्षमा अध्ययनरत उमेश उपाध्यायले जानकारी दिए । दैलेख निवासी उनी सात वर्षदेखि त्यही भवनमा बस्दै आएका छन् । लामो समयदेखि एउटै भवनमा बस्दै आएकाले त्यति असहज नलागे पनि संरचना भने जीर्ण हुँदा डर लाग्ने गरेको बताए । विसं २०४९ तिर उक्त छात्रावास भवन निर्माण भएको हो । लगभग ३० वर्ष पुगिसकेको त्यो भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । आफूहरु बस्दा भवन राम्रै भए पनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्व विद्यार्थी भीमलाल मरासिनीले बताए ।

त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिए। “भवन धेरै पुरानो भइसकेको छ, निकै जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने गरी हामीले छलफल गरिरहेका छौँ”, उनले भने, “हामीले कुनै दुर्घटना नहोस् भनेर प्राविधिकलाई पनि देखाएका छौँ ।” त्यो भवनलाई मर्मत गर्न सम्भव नहुने भएकाले यही आर्थिक वर्षमा नजिकै रहेको सानो भवनमा विद्यार्थीलाई राखेर अहिले रहेको भवनमा नयाँ भवन निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ । विद्यार्थी जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रु एक करोडको लागतमा गत वर्ष निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार