अर्थतन्त्रमा संरचनागत समस्या छन्, तत्काल समाधान गर्नुपर्छ : युवराज खतिवडा

काडमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरूको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा बेहोर्नुपर्ने बताएका छन् ।

उनले नेपालमा उत्पादनको लागि वस्तु आयात गर्ने तर निर्यात गर्ने अवस्था नभएकाले उच्च व्यापार घाटा बढ्दै गएको बताए । सोमबार अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले सेवा, रेमिट्यान्स, उच्च कर्जा प्रवाह, प्रत्यक्ष विदेशी लगानीलाई व्यवस्थित गर्न नसके व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै जाने चेतावनी दिए । अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै समाधान गर्न समय लाग्ने उनको भनाइ छ ।

उनले विगतमा भारतसँग भएका आर्थिक सन्धि सम्झौताहरूमा पुनारावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । “हामीले भारतसँगका सन्धि सम्झौता परिमार्जन नगर्ने हो र हाम्रो राष्ट्रहित अनकूल नीति परिर्वतन नगर्ने हो भने यो समस्या भोलि आउने सरकारलाई पनि रहिरहने हुन्छ, उनले भने ।

डा खतिवडाले अर्थतन्त्रमा समस्या भएपनि दक्षिण एशियामा तुलनात्मक रूपमा नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको दाबी गरे । “हामी जति समस्या हो त्यति मात्रै बुझौँ । जति समस्या होइन नबुझेर हामी आतङ्कित नहोऔँ,” उनले भने, “हाम्रा अर्थतन्त्रका सूचकहरू दक्षिण एसियामा तुलनात्मक रूपमा राम्रा छन् । हाम्रो आर्थिक वृद्धिदरमा केही पछाडि परेका छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार