बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय सञ्चालन गर्ने

भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकबाटै कार्यालय सञ्चालन गर्ने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि सडकमा नै धर्ना दिनु परेको वडा अध्यक्ष लामाले बताउँछन् ।

नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय लिएर चलाएको लामाले बताए ।

‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरवाही र नेपाल सरकारको अकर्मण्यताले ९ वर्ष पुग्दा पनि बन्न सकेन । मैले दबाब स्वरुप बाध्य भएर वडा अध्यक्षको हैसियतले ध्यानाकर्षण गराउन कार्यालय सडकमा ल्याएको छु’ रातोपाटीसँग कुरा गर्दै लामाले भने, ‘भक्तपुर नगरकोट खण्डको बाटो बनाउनुपर्यो भनेर सरकारका सबै निकायलाई गुहारे । मेरो व्यक्ति रुपमा केही चलेन त्यसपछि बाध्य भएर दबाब दिन सडकमा आएको छु ।’

वडा अध्यक्ष लामा भक्तपुर नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी लिएर सडकमा आएका छन् । यो सडक खण्ड बन्ने निश्चित नभएसम्म यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार