जसपाभित्र किचलो बढ्यो, बाबुराम गैरजिम्मेवार व्यक्ति भएको उपेन्द्र पक्षको आरोप

जनता समाजवादी पार्टी (जसपा) विभाजनको निश्चित भएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएका छन् । पार्टी विभाजन गर्ने सहमति नै गरेका नेताहरु अहिले एकअर्का विरुद्ध आरोप प्रत्यारोपमा नै उत्रिएका छन् ।

जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ भने, अध्यक्ष उपेन्द्रले वीरगञ्जमा असार २९ र ३० बैठक बोलाएका छन्।

अध्यक्षद्वयबीच पार्टीबाट अलग हुने सहमति बनिसकेपछि पनि उपेन्द्र पक्षले काठमाडौंमा बोलाएको बैठक आधिकारिक नभएको भन्दै सर्कुलर जारी गरेको छ।

बाबुराम पक्षको बैठकमा नजान जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार