सरकारले देशविरुद्ध अपराध गर्दैछ : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले सरकारले परराष्ट्र नीति उल्लंघन गरेर देश विरुद्धको अपराध गरेको आरोप लगाएका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको अतिक्रमणमा पर्दासमेत सरकार चुइँक्क बोल्न नसकेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामीले केही समय अगाडि राष्टिय सुरक्षा नीति राजपत्रमा प्रकाशित भयो। राष्ट्रिय सुरक्षा नीतिको कुरा गर्नासाथ यो सरकार तर्सिन्छ कि क्या हो।’

उनले प्रधानमन्त्रीलाई राष्ट्रियताको सुरक्षामा ध्यान दिन समेत आग्रह गरे ।
‘सरकार थरथर कामेर बसेको छ। जनताबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुँदा यसरी नै राष्ट्रियताको सुरक्षा हुन्छ। हामीले दिनदिनै सुनिरहेका छौँ। अमेरिका सेनाका प्रमुख आउने रे यहाँ सेना प्रमुख अमेरिका जाने रे के हुँदैछ ?’ उनले प्रश्न गर्दै भने, ‘यो रक्षा मन्त्रीजीसमेत रहनुभएको प्रधानमन्त्रीलाई सोध्न चाहन्छु।’

एमसिसी पारित गर्दा हिन्द प्रशान्त रणनीतिअनुसार सैनिक तैनाथी सम्झौता अर्थात् सोझा अगाडि बढाउने र केही समय अगाडि सुरु गरिएको साझेदारी सम्झौतामा भित्रभित्र गर्नको लागि चाँजोपाजो मिलाइरहेको आशंका व्यक्त गरे।

उनले भने, ‘मैले सैनिक प्रवक्ताको कुरा सुनेँ नेपाल शान्ति प्रक्रियाको सहभागिताबारे अमेरिकी सेनाका ठूला हाकिम यहाँ आउने रे। विश्वमा शान्ति कायम गर्नु कुरा नेपाल र अमेरिकाको मात्रै कुरा हो। सरकार र प्रधानमन्त्रीज्यूले जवाफ दिनुस्। त्यसो त संयुक्त राष्ट्रसंघको स्वतन्त्र सदस्यको हैसियतबाट योगदान गरेको कुरा हो। अमेरिकी सरकारसँग दुई पक्षीय कुरा गरेर सेनाका प्रधान सेनापति र हाम्रो सेनापति पनि अमेरिका जाने रे प्रधानमन्त्री पनि पछि पछि जाने रे।’

उनले स्वतन्त्र परराष्ट्र नीति उल्लं‍घन गरेर देशविरुद्धको अपराध हुने चेतावनी दिए। राष्ट्रियताविरुद्ध जानेलाई देशभक्त नेपालीले माफी नदिनेसमेत उनले बताए।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार