विश्वकप लिग टू : नेपाल र ओमानको प्रतिस्पर्धा आज

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ ।

बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो । त्यसबाट नेपाललाई केही सहयोग पुग्ने विश्वास गरिएको छ । तर ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेल र प्रशिक्षणका क्रममा घाइते भएपछि नेपाल टिमलाई ओपनिङमै चिन्ता थपिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान(ले दुवै खेलाडीले पहिलो खेल खेल्ने सम्भावना कम देखेपछि विकेटकिपर ब्याटर सुबास खकुरेललाई अमेरिका पठाइसकेको छ । कुशल र आसिफ फिट नभए टिममा रहेका ओपनर सुनिल धमला र सुबासले नेपालको ओपनिङ गर्ने लगभग पक्का छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार