महाअभियोग प्रस्ताव तुरुन्तै पास हुँदैन : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास नहुने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले महाअभियोग प्रस्ताव पेश गर्ने वित्तिकै पारित नहुने बताएका हुन् । ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडि आएको छ । प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पुर्‍याउने कुरा हो नि त । त्यसकारण समय अझै छ’ उनले भने ।

नेता खनालले महाअभियोग प्रस्ताव अघि बढाउन महाअभियोग सिफारिस समितिले पनि चासो देखाउनुपर्ने बताएका छन् ।

‘समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो’ खनालले भने, ‘त्यो समितिले आफ्नो उत्तरदायित्व पूरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्‍यो । अनि संसदले काम गर्नुपर्‍यो । त्यसपछि त अगाडि बढिहाल्छ नि ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार