गठबन्धनको धेरै गीत गाउँदा धोका पायौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले गठबन्धन गरेका छौँ। त्यसबारेमा समीक्षा गरिरहेका छौँ। हामीलाई फाइदा भइरहेको छ। पोखराको मेयरमा हामीबाहेक अरू कसैले जित्न सक्दैनथ्यो। हेटौँडामा पनि शानदार जित हासिल गरेका छौँ। हाम्रो कमजोरी भनेको गठबन्धनको गीत धेरै गाउनु नै भयो। भरोसा धेरै गर्दा धोका भयो।’

स्थानीय तहको निर्वाचनमा आफ्नो शक्तिले मात्रै लडेको भए बढी सफलता हासिल हुने उनको बुझाइ छ। उनले भने, ‘हामीले कतिपय ठाउँमा आफ्नो एक्लै लड्दा हाम्रो झण्डा फहराएको छ। अब हामी पार्टी निर्वाचन र चुनावको तयारीमा लाग्नुपर्छ। प्रदेश र संघको निर्वाचन मंसिरमा हुन्छ। चुनाव चिह्नको बारेमा जनतालाई बताउने र जनताको मन जित्न लाग्नुहोस्।’

उनले स्थानीय तहको निर्वाचन आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताए। ‘हाम्रो पार्टी अरु पार्टीभन्दा भिन्न हुनुपर्छ। जनतालाई र देशलाई माया गर्ने कार्यकर्ता तयार गछौँ, हामी लोभी पापी र कुसंस्कृत त्यस्तो प्रवृत्ति भएको मान्छे तयार गर्दैनौँ’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार