बञ्चरेडाँडामा आज पनि झडप, प्रहरीले हान्यो अश्रुग्यास

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको हो । अहिले त्यहाँको अवस्था तनावपूर्ण छ । स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्।

बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । यसअघि मंगलबार पनि काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोक्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको थियो ।

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने निर्णय गरेको थियो । सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ । तर वार्ता टोलीको निर्णयलाई स्थानीयले अस्वीकार गर्दा फोहोर व्यवस्थापनमा पुन सकस देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार