एसियन कप छनोट : नेपालले जोर्डनसँग खेल्दै

एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा नेपालले आज राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे हुनेछ ।

खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । सिनियर ११ खेलाडीविना कुवेत पुगेको नेपाललाई जोर्डनविरुद्धको खेल युवा टोलीको परिक्षा हुनेछ ।

नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपपछि उनीहरु क्याम्प छाड्न बाध्य बनेको थियो ।

मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध विना दवाव खेल्ने बताएका छन् । टोलीको प्रशिक्षण सुरु भएको दिन नै सञ्चारकर्मीसँग टोली एसियन कपमा छनोट नहुने बताइसकेका प्रशिक्षक अलमुताइरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिलेको टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।

किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।नेपाल र जोर्डनबीच हालसम्म चार पटक प्रतिस्पर्धा भएको छ । नेपालले एक खेलमा बराबरी खेल्दा तीन खेल गुमाएको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ मा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार