नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबिच यसै साता मर्जरको एमओयू हुने

देशकै ठूलो बैंक बन्ने

नेपाल इन्भेस्टमेन्ट  बैङ्क र मेगा बैङ्कको मर्जर पक्का पक्की भएको छ ।  दुवै  बैङ्क मर्जरमा जाने सहमति जुटेको हो ।   गत चैत्रमा हिमालयन बैङ्कसँग मर्जर टुटेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कले मेगालाई मर्जरको  अफर गरेको थियो ।

मेगा बैङ्कले राम्रो स्वाप रेसियो पाए मर्जर गर्न तयार भएपछि इन्भेस्टमेन्ट र मेगा दुवैले आन्तरिक डिडिए गराएका थिए ।  केही दिन अघि मात्र इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कबिच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो । दुई बैङ्क १००ः९० अनुपातमा मर्जरमा जान लागेका हुन् ।  अर्थात् मर्जरमा जाँदा इन्भेस्टमेन्ट बैङ्कको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैङ्कको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको  बताइएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे अमेरिका गएकाले उनले मर्जर सम्बन्धी सम्पूर्ण काम हेर्न बैङ्कका अर्का सञ्चालक प्रजनय राज भण्डारीलाई तोकेका छन् । पाँडेले मर्जर सम्बन्धी आवश्यक सल्लाह भर्चुअल माध्यमबाट दिने जनाएका छन् ।

कुनै अवरोध नआए आगामी शुक्रवार इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपालबिच मर्जर सम्बन्धी एमओयू हुने बताइएको छ ।  यदि यी दुईबिच मर्जर सफल भए हालसम्मकै ठूलो बैङ्क बन्ने छ । दुई बैङ्क मर्ज भएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । जुन हाल वाणिज्य बैङ्कहरू मध्येकै ठूलो बैङ्क ‘ग्लोबल आईएमई बैङ्कको भन्दा ८ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्नेछ । हाल ग्लोबल आईएमई बैङ्कको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । थप मर्जरपछि बन्ने बैंकको चुक्तापुँजीमा स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले ३४ अर्बभन्दा बढी हुने छ ।

यद्यपि, मर्जरपछि बन्ने बैंकको नाम भने अहिले नै यकिन भइसकेको छैन । दुवै बैंकले आ–आफ्नो नामको अस्तित्व खोजेको बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार