नेपाल यू– १९ महिला विश्वकपमा छनोट हुन सकेन

काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।

यो पराजयसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानविरुद्धलाई ४ विकेटले हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार