जिससको चुनाव नसकिएसम्म कार्यक्षेत्र नछाड्न जनप्रतिनिधिलाई आयोगको निर्देशन

निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तीमा यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको पनि उल्लेख गरिएको छ ।

यस्तै, आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमा रोक्न नमिल्नेभएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्न नगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

बैशाख ३० मा भएको स्थानीय तहका निर्वाचनको परिणामपछि अहिले देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार