संसदमा प्रस्तुत भएको विधेयक सांसदहरुले नपाएपछि बैठक स्थगित

सांसदहरुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकको प्रति नपाएको भनेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेपछि सभामुख अग्नि सापकोटाले सैद्धान्तिक छलफल अघि बढाएका थिए।

पुष्पा भुसाल, वृन्दा पाण्डे, आशाकुमारी विक, डिला संग्रौला र विमला विकले विधेयकको छलफलमा आफ्नो धारणा पनि राखे।तर एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले आफूहरुले विधेयक नै नपाएको भन्दै कुन आधारमा छलफलमा भाग लिने भन्दै प्रश्न गरिन्। त्यसपछि सभामुख सापकोटाले सचिवालयबाट प्राप्त जानकारी भन्दै, जेठ १७ गते नै वितरण गरिएको र पिजन हलमा गएर लिन आग्रह गरे।

त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नै आफूहरुले विधेयक हेर्न नपाएको बताए। सभामुख सापकोटाले कार्यसूचीमा चढेका सबै विषय हटाउँदै बैठक जेठ २३ गते सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार