असिनापानीले तरकारी तथा फलफूलमा क्षति

सल्यानको कपुरकोटमा परेको असिनापानीले तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ। बाक्लो असिनापानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको छ। असिनापानीका कारण १ करोड ९२ लाख ६० हजार १८० रुपैयाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ।

बिहीबार आएको असिनापानीले १९ जना किसानले राखेको नर्सरी ब्याडमा १ लाख ३२ हजार ५ सय रुपैयाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४३० रुपैयाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २५० रुपैयाँ बराबरको क्षति भएको कृषि शाखा प्रमुख टीकाकुमारी राईले जानकारी दिए।

उक्त क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ। आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटवासी योपटक भने असिनापानीले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार