नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

नेपालगन्जमा राजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

सालिक स्थापनाको विषयमा नेपालगन्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । ‘इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ’ शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालगन्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्र चोकमा स्वतःस्फूर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्र प्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने कार्यप्रति अवरोध पुरयाईएको घटनाबाट हामी स्तब्ध भएका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत सङ्ग्रह,  युगानुकूलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’

जुनसुकै विचार, दर्शन, अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पुर्‍याउने महामोनाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चली आएको विज्ञप्तिमा भनिएको छ ।  ‘ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगन्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो’ विज्ञप्तिमा भनिएको छ ।

नेपालगन्जमा आज वीरेन्द्रको सालिक राख्ने क्रममा झडप भएको थियो र प्रहरीले सालिक राख्न दिएको थिएन । त्यस क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार