अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

मौसम पूर्वानुमान महाशाखाले भन्यो : ईनरुट फोरकास्ट गर्न तत्काल असम्भव

जल तथा मौसम विज्ञान विभागले नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न सम्भव नहुने बताएको छ । तारा एयरको नाईनएनएईटी विमान पोखरा जोमसोम रुटमा दुर्घटनामा परेपछि प्राधिकरणले हचुवाको भरमा ल्याएको आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने विभागले बताएको हो ।

मौसम विभागले एक सूचना जारी गर्दै यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको भनेको छ । उता प्राधिकरणले आन्तरिक उडानमा इनरुट मौसमको पूर्वानुमान गरेर उडान भर्न दिएको निर्देशनलाई अन्य सरोकारवालाहरूले समेत सतही र हावा निर्णयको संज्ञा दिएका थिए । प्राधिकरणको प्रमुखमा असाध्यै विवादित पृष्ठभूमिका प्रदीप अधिकारी आएपछि हचुवामा गरिएको यो सातौँ निर्णय हो । यसअघि पनि अधिकारीले गरेको निर्णय हावादारी भन्दै सरोकारवाला अन्य निकायले अवज्ञा गर्ने तथा सच्चाउन लगाउने गरेका छन् । अघिल्लो महिना मात्रै अध्ययनबिनै चौबिस घण्टा सेवा सञ्चालन गर्ने निर्णयमा वायुसेवा सञ्चालक सङ्घले तयारी बिनै गरेको भन्दै यसको अवज्ञा गर्ने चेतावनी दिएको थियो । सोही चेतावनीका कारण अधिकारीको निर्णय कार्यान्वयनमा आउन सकेन ।

यसबाहेक धेरै निर्णय गर्दा सरोकारवालासँग छलफल र परामर्शबिना नै गर्ने, संस्थागत हितभन्दा व्यक्तिगत लाभमा मात्रै केन्द्रित हुने जस्ता एकपछि अर्को विषयमा अधिकारी निरन्तर विवादमा तानिएका छन् । आर्थिक चलखेलमार्फत विवादित व्यक्तिलाई महानिर्देशक बनाउने नेपालको नागरिक उडडयान क्षेत्र थप धुमिल बन्दै गएको प्रति अहिले यस क्षेत्रका विज्ञहरूले निरन्तर चिन्ता व्यक्त गदै गएका छन् ।

पछिल्लो निर्णयमा गलत भएको भन्दै सार्वजनिक सूचना नै जारी गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले यसावाहेक प्राधिकरणले भनेजस्तै देशभरको इनरुट मौसम सूचना दिन सम्भव नहुने भएकाले यसलाई सच्चाउनुपर्ने माग गरेको छ ।

आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरूको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।

त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।उता नेपालमा आन्तरिक उडान भर्दै आएको विमान कम्पनी र यसमा कार्यरत विज्ञ कर्मचारीहरूले समेत यो निर्णय हचुवाको भरमा आएकाले यसले पुरै उडान क्षेत्रलाई अस्तव्यस्त बनाउने भन्दै सच्चाउन सुझाव दिएका थिए ।

प्राधिकरणले भनेअनुसार नै यदि इनरुटको मौसम उडानयोग्य भएपछि मात्रै उडानको अनुमति लिने हो भने काठमाण्डौबाट नेपालगन्ज जाने विमानले धादिङ नुवाकोट हुँदै गोरखाको मनकामना क्षेत्रमा बादल वा पानी पर्दा समेत पुरै उडान रोकेर बस्नुपर्ने हुन्छ । नेपालगन्ज र काठमाण्डौंको मौसम खुला हुँदा सम्भव हुने यस्ता उडान गोरखाको मनकामना क्षेत्रमा बादल लाग्दा रोकिनु व्यवहारिक हुँदैन नागरिक उडड्यान क्षेत्रका विज्ञ भन्छन् ।

कुनै न कुनै लेकमाथि बादल र प्रतिकुल हावा निरन्तर चल्ने भएकाले हरेक समय पुरै देशभरको मौसम क्लियर हुने नेपालको सन्दर्भमा सम्भावनै छैन । यस्तो अवस्थामा दिनैभर इनरुटको मौसम कुरेर उडान बन्द गरेर बस्नुपर्ने अवस्था आउँछ यो कसरी सम्भव हुन सक्छ विज्ञहरूको प्रश्न छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार