जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : काममा माओवादी पहिचान देखियोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए ।

“हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ”, उनले भने, “अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।”

माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताए। माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए ।

फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष दाहालले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रुपान्तरणमा लाग्न जनप्रतिनिधिलाई दिर्नेशन दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार