काठमाडौं महानगरको मतगणना बिहीबार दिउँसोसम्म सम्पन्न हुने

काठमाडौं महानगरपालिकाको भृकुटीकण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा सबै प्रतिनिधिबाट सहयोग भएको र सो कार्य यसैगरी अघि बढेको खण्डमा सो दिनको २ बजेसम्ममा सम्पन्न हुने बताए । महानगरमा खसेको एक लाख ९१ हजार १८६ मतमध्ये अहिलेसम्म एक लाख ५५ हजारको हाराहारीमा मतगणना भएको उहाँले बताए ।

मंगलबार साँझसम्म एक लाख ५३ अजार ८०४ को मतगणना गर्दा प्रमुख पदमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५१ हजार ५३० पुगेको छ । यसैगरी, नेपाली कांग्रेसका सिर्जना सिंहले ३१ हजार ६४८ र नेकपा (एमाले) का केशव स्थापितको मत ३१ हजार ५७ रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले चार हजार ७२२ मत र स्वतन्त्र उम्मेदवार सुमन सायमीले नौ हजार ५३७ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले ५६ हजार २६८ मत ल्याएकी छन् । नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १९ हजार १९३ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाको ९ हजार ९७३ मत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार