‘सरकारले भोट पाएपछि जनतालाई चोट दियो’

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकार हुनुको अनुभूति दिलाउन नसकेको बताएका छन् । आज सोमवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको बताएका हुन् ।

मूल्यवृद्धिका कारण सबै क्षेमा असर पुगेको राष्ट्रिय सभा सदस्य श्रेष्ठको भनाइ छ । उनले भने, ‘अहिले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हेर्दा लाग्छ देशमा सरकार छ वा छैन ? विगत सात महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । छिमेकी देश भारतले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा करको दायरालाई कम गरेर जनतालाई प्रत्यक्ष राहत दिएको छ । हाम्रो त सरकार सुतेको हो कि, बिउँझेको हो कि, छ कि छैन भन्ने अनुभूति हामी सबैले पाइरहेका छौँ ।’

विशेष समयमा बोल्दै अर्का सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई अनुरोध गरे । मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेको उनले उल्लेख गरिन् ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जनताको भोट पाएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएर जनतालाई चोट दिएको टिप्पणी गरिन । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गरिन

न्यौपानले देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गर्दै अर्थमन्त्रीमाथि विभिन्न प्रश्न उठेको बताइन् । सत्तारूढ गठबन्धन देशको समस्या समाधान गर्नका लागि नभइ अर्थतन्त्रलाई ध्वंश गराउनका लागि भएको उनको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार