नेपाल टेलिकमको फोरजीका ग्राहक एक करोड बढी पुगे

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो ।

यो अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पुस १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजीरएलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । आफ्नो मोबाइल फोनबाट *४४४# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ ।

मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई अर्थात् लङ्ग ट्रम इभोलुसन भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा (भोलटी) पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीव्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य-दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिन्छ । साथै, टेलिकमको फोरजीमा भोलटी पनि रहेकोले यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार