झापामा चार पालिकाको नतिजा सार्वजनिकः कहाँ-कसले जिते ?

झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे। कन्काई, हल्दिबारी, बाह्रदशी र कचनकवलको नतिजा सार्वजनिक भएको हो । यी तीन स्थानीय तहमा एमाले दुई, कांग्रेस र राप्रपाले एक/एक पालिका जितेका छन् ।

कन्काई नगरपालिका एमालेले जितेको छ । नगर प्रमुखमा पुनः एमालेका राजेन्द्र पोखरेल निर्वाचित भए । पोखरेलले ८ हजार ६७३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत पाएका थिए । यद्यपि, यो नगरपालिकामा बागीका कारण कांग्रेसलाई घाटा भएको छ । टिकट नपाएपछि असन्तुष्ट रहेका कांग्रेस महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिए । थापाले ५ हजार ६९१ मत पाए ।

कन्काई नगरप्रमुखमा जित निकाले पनि एमालेलाई यसपटक भने विगतको तुलनामा क्षति भएको छ । विगतमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यसपटक उपप्रमुख गुमाएको छ ।  उपप्रमुखमा भने कांग्रेसकी आशा शर्मा सिवाकोटी विजयी भएकी छिन् । उनले १० हजार ७१३ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी मञ्जु प्रसाईंले ८ हजार ८४५ मत पाइन् । प्रसाईं यसअघि कन्काई नगरपालिकाकी उपप्रमुख थिइन् । कन्काईमा ९ वटा वडामध्ये सातमा एमाले र दुईमा कांग्रेस विजयी भए ।

एमालेले बाह्रदशी गाउँपालिका जितेको छ । कांग्रेसकाे इतिहासलाई उल्ट्याउँदै एमालेले जित निकालेको हो । यहाँ एमालेका देवीन्द्रप्रसाद चम्लागाईं ७ हजार १८४ मतका साथ विजयी भएका छन् । यस गाउँपालिमामा यसअघि कांग्रेसका खड्गप्रसाद राजवंशी अध्यक्ष थिए । राजवंशी यसपटक पराजित भएका छन् । उनले चार हजार ३६१ मत पाए । उपाध्यक्षमा पनि एमालेकी शान्तादेवी सिवाकोटी विजयी भएकी छन् । उनले ६ हजार ६३६ मत पाइन् । उनकी प्रतिद्वन्दी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाइन् । यो गाउँपालिकामा सातवटा वडा छन् । जसमध्ये चारमा कांग्रेस, एक एमाले, एउटा वडामा राप्रपा र एउटा वडामा स्वतन्त्र विजयी भएका छन् ।

यस्तै, कचनकवल गाउँपालिकामा कांग्रेस विजयी भएको छ । राप्रपाको किल्लामा कांग्रेसले जित निकालेको हो । यसअघि अध्यक्ष र उपाध्यक्षमै जित निकालेको राप्रपा यसपटक पराजित भएकाे छ । यहाँ कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । राजवंशीले ११ हजार ४ सय ५७  मत प्राप्त गरे । राप्रपाका अञ्जारा आलम ६ हजार ६ सय ६७ मतका साथ पराजित भए ।

उपाध्यक्षमा भने एमालेका नवराज भट्टराई ८ हजार १ सय ४३ मतका साथ विजयी भए । उनकी निकटतम प्रतिद्वन्दी राप्रपाका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत पाइन् ।  यहाँ राप्रपालाई हराउन कांग्रेस-एमाले तालमेल भएको थियो । यो गाउँपालिकामा कांग्रेसले सात वडामध्ये ६ कांग्रेस र एक एमाले एउटा वडा जितेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँपालिका हल्दिबारीमा भने राप्रपा विगतको तुलनामा सुधारिएको छ । विगतमा अध्यक्ष मात्र जितेर अल्पमतमा परेको राप्रपाले यसपटक भने उपाध्यक्षमा पनि जित निकालेको छ । गाउँपालिका अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् । रवीन्द्रले ६ हजार ८ सय ५६ मत प्राप्त गरे । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी राप्रपा अध्यक्ष लिङ्देनका भाइ हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका डम्बर गिरीले चार हजार ६ सय ६६ मत प्राप्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् । उनले पाँच  हजार ७८ मत प्राप्त गर्दा नकटतम प्रतिद्वन्दी एमालेकी शान्ता गौतमले चार हजार एक सय ६ मत प्राप्त गरिन् । यहाँ दुईवटा वडा राप्रपा, कांग्रेस, माओवादी र एमालेले एक/एक वडा जितेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार