भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए । निगमले भारतबाट नै मूल्य बढेर आएकाले फेरि मूल्य बढ्ने संकेत गरेको छ । यद्यपि हालसम्म कुनै निर्णय भने भएको छ ।

दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । युक्रेन युद्ध जारी रहेकै बीच पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य अझै बढेर गएको निगमको भनाइ छ । यो परिस्थितिमा खरिद मूल्य बढ्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम महिनामा दुईपटक भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ । जसअनुसार निगमले मे २०२२ को लागि पहिलो किस्ता भुक्तानी गर्दा रु १२ अर्ब ८० करोड भुक्तानी दिन नसकेको र सो रकम बक्यौता रहन गएको जनाएको छ । दोस्रो किस्ता वापत आगामी मे २३ मा थप करिब रु १८ अर्ब भुक्तानी गर्नुपर्ने भएको भन्दै निगमले जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न ठूलो चुनौती रहेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार