मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।
आयोजनाको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उल्लेख गरे  ।
यसरी आइएमई पे बाट आवेदन भर्दा निश्चित प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाईँले पहिलो पटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाईँको कारोबारको सुरक्षा र गोपनीयताका लागि तपाईँको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाईँसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ । त्यसपछि तपाईँ एपको गृहपृष्ठमा  प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाईँले ‘आइपिओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एक पटक रुजु गरी आफ्नो पीन कोड थिच्नुहोस् । यसरी तपाईँले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपिओ भर्न सक्नुहुनेछ । यसरी आइपिओ भर्दा तपाईँलाई कुनै अतिरिक्त सेवा शुल्क लाग्नेछैन ।
मध्य भोटेकोसीले वैशाख २१ गते मङ्गलवारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्कासन गरेको हो । यसरी निष्कासन गरिएको  आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार