नमूना मतपत्रमा बेरेर पैसा बाँड्ने उम्मेदवारलाई लिखित माफी मगाइयो

पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई अर्घाखाँचीमा माफी मगाएर छोडिएको छ ।

अर्घाखाँचीको मालारानी वडा नम्बर ३ मा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले वडा अध्यक्षको उम्मेदवार बनेका आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन् ।

शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदालीलाई रेष्टुरेन्टमा खाजा खान आउनेलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिइन् ।

शनिबार खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल सञ्चालक चुँदालीले वडाअध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएपछि उनहिरुले प्रहरीमा उजुरी दिएका थिए ।

घटना सार्वजनिक भएपछि अन्य दलका कार्यकर्ता र निर्वाचन अधिकृतको रोवहरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको नेकपा एमाले मालारानी गाउँपालिका उपाध्यक्ष विष्णु मिश्रले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार