उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यसरी झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३ह३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न प्रयोग गर्न आयोगले भनेको छ ।

दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने आयोगको ठहर छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भएभन्दा फरक ढङ्गले झण्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिताविपरीतका कार्य नगर्न नगराउन आयोग सबैमा आग्रह गर्दछ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार