नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो

नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि ओपनर सुनिल धमला ३८ रनमा आउट हुँदा तथा आशिफ शेख ३४ रनमा अविजित रहे । आजको खेलमा कुशल भुर्तेल रहे पनि ओपनरमा भने आएका थिएनन् । जिम्बावेका ब्राण्डन माभुताले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो । नेपालको धारिलो बलिङ सामू जिम्बावेका जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए भने ब्राड्ली इभान्सले २० रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्नसमेत सकेनन् ।

जिम्बावेलाई सस्तैमा रोक्न नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ विकेट तथा सागर ढकालको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपालले तीन खेलको अभ्यास शृंखलामा बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ ।

यसअघि जिम्बावे ‘ए’ र नेपालबीच भएको तीन खेलको टी(ट्वान्टी सिरिज १(१ को बराबरीमा सकिएको थियो। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार