गठबन्धनको चुनावी सभा : के-के भने नेताहरुले ?

रेनुलाई आफ्नो जोडबलले उम्मेद्वार बनाएको देउवाको भनाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् । शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजित सत्तागठबन्धनको चूनावी सभालाई सम्बोधन गर्दै रेनुलाई उम्मेदवार बनाउन आफुले भनेको बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरेका छन् ।

त्यस्तै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् ।प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूले नेतृत्व गरेका ठाउँ सफल भएको बताएका छन् । उनले पुरूष नेतृत्व भएका ठाउँमा खासै काम नभएको पनि बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा अहिले दुई वटा गठबन्धन गइरहेको बताएका छन् । उनले लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन भएको बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन नै नहुने संदेहकाबीच स्थानीय तह निर्वाचन गराएर गठबन्धनले हिम्मत गरेको बताए । उनले जनमोर्चा कांग्रेससँग मिलेर सिध्धियो भनेर प्रचार गरिएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको स्पष्ट पारेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । साथै कार्यक्रममा सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको धारणा राखेकी थिइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार