आइपिएल अनिश्चितकालका लागि स्थगित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको हो ।

आठ मध्ये चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर दर्शकबिनाको रंगशालामा खेल हुँदै आएको थियो ।

आइपिएल अन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो । सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो ।

यसअघि बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो । लगातार खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय लिएको हो । आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार