पदमुक्त भएपछि शेरचनले भने – अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी छु

नेपालको राजनीति निरंकुशतातिर धकेलिएको शेरचनको आरोप

सोमबारमात्रै गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा खुशी लागेको बताएका छन् । मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई ।’

उनले आफू पदका लागी राजनिति नगरेको भन्दै अधिकारविहीन खुला जेलबाट मुक्त भएको बताएका छन् । उनले पार्टीको निर्णयले आफू प्रदेश प्रमुख बनेको भन्दै अगाडी भने “पहिला ओली जी र प्रचण्ड जी मार्फत प्रस्ताव आउँदा ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको थिएँ, पछि पार्टीले निर्णय सुनाएपछि अनुशाशित कार्यकर्ताको नाताले बाध्य भै स्वीकार गरेको पद हो त्यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको समेत बताएका छन् । उनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए । ‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ, म नमान्दा–नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद् विघटन हुने बेला नै राजीनामा दिने तयारी गरेँ । प्रचण्डले रोकेका कारण दिएको थिइनँ । अहिले आफैं हटाइयो ।’

उनले राजनीतिमा ६२ वर्ष बिताएको जनाउँदै आफूलाई कुनै पनि पदको लोभ नभएको बताए । अबका दिनमा खुला राजनीतिमा सक्रिय रहने भन्दै उनले आफूले पदीय मान्यता विपरीत कार्य नगरेको दाबी समेत गरेका छन् ।

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार