माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोड्न लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’ धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्सँग सँगै बस्न नसकिने अवस्था आएको भन्दै दुवैले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको उनले बताएका छन् ।

‘धेरै लामो समयसम्मको वैचारिक मन्थन तथा हाम्रो सम्बन्ध सुधारमा धेरै कार्यपछि अन्ततः हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय ग¥यौँ’, ट्वीटरमा लेखेका छन्, ‘आगामी दिनहरूमा जोडीका रूपमा सँगै अगाडि बढ्न सकिनेमा हामीलाई विश्वास हुन सकेन ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध बिच्छेद भएपनि फाउन्डेसनमा भने सँगै मिलेर अझै काम गर्ने बताएका छन् । उनीहरुका तीन सन्तान छन् ।

६५ वर्षीय गेट्सले सन् २०२० मा माइक्रोसफ्टबाट विदा लिएका थिए । उनले कोरोना महामारीकैबीच ‘फाउन्डेसनमा केन्द्रित’ हुन माइक्रोसफ्टबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार