झापाको बायोग्यास कारखानामा लागेको आगोमा १५ करोड क्षति

झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताए ।

आज बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो १२ घण्टापछि नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिइएको हो ।

कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार