निषेधाज्ञा थप कडाइ, फ्रान्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताए ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उनले बताए ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्रीले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने बताए । उनले प्रदेशहरूलाई पनि सोही बमोजिम गर्न निर्देशन दिएका छन् । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उनले जानकारी दिए ।

प्रधानमन्त्रीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिए । उनले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने पनि उल्लेख गरेका छन् । उनले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको पनि जानकारी गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार