राप्रपाका उम्मेदवारले खाए ‘भ्रष्टाचार नगर्ने’ कसम

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।

आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले कसम खाएका हुन् । राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।

मेयर र उपमेयर सहित कास्कीका पालिकामा चुनाव लड्ने सबैले एकै पटक कसम खाएका छन् । मेयरका उम्मेदवार खरालले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको बताए ।

‘सरकारी तलब खाएर आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन पाइने छैन । त्यो हामी रोक्छौं । हाम्रो उम्मेदवारी पोखरालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो पोखरा निर्माण गर्छौं ।’

प्रदेश कमिटी अध्यक्ष गुरुङले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार