गठबन्धनलाई भागबण्डाको सकस, एमालेले भोलि मनोनय दर्ता गराउने

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । तनहुँका १० वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनय दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले बताए । शनिबार सबै स्थानीय तहमा सर्वदलीय बैठक भएको उनले जानकारी दिए । ‘छलफलमा भरसक आलोपालो गरेर आउनु भनेका छौँ । सबै दल र उम्मेदवारलाई मनोनयपत्र बाँडेका छौँ,’ उनले भने ।

पहिलो दिन आज साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउने आँकलन गरेको उनले बताए । ‘ठूला राजनीतिक दलको टिकटको तारतम्य मिलेको देखिदैन । त्यसैले ठूला राजनीतिक दलको हकमा सोमबार हुने देखिन्छ । साना दल र स्वतन्त्र उम्मेदवारले भने आइतबार नै आउछौँ भन्नु भएको छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आजदेखि सुरु हुने भए पनि जिल्लामा ठूला दल उम्मेदवार छनोटमै अल्झिएका छन् । उम्मेदवारको टुंगो नहुँदा निर्वाचनको रौनक त्यति छैन ।

सत्ता गठबन्धनमा सहमती जुट्न सकेको छैन । शनिबार बिहान र साँझ दुई पटक सत्ता साझेदार दलका प्रतिनिधिको बैठक बसे पनि सहमति हुन सकेन । गठबन्धन दलबीच आ-आफ्नै अडानका कारण भागबण्डा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘सबैको अडान छ । सहमति हुन सकेको छैन् । अन्तिम समयमा मात्र सहमति होलाजस्तो देखिन्छ,’ उनले भने ।

एमालेले आज साँझ मात्रै वडाका उम्मेद्वार सार्वजनिक गर्ने एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले बताए । वडाको उम्मेदवार टुंगो लगाउन एमाले जिल्ला कमिटी शनिबार दिनभर बैठक बसेको थियो । ‘सोमबार १२ बजे सबै स्थानीय तहमा एकै साथ मनोनयन दर्ता गराउनेछौँ,’ कुमालले भने ।

जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दल दर्ता नभएकाले स्वतन्त्र चिह्नबाट निर्वाचन लड्नुपर्ने हुन्छ ।

सोमबार ५ बजेपछि मनोनय दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय हुनेछ । १५ वैशाखमै उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ लाख ४४ हजार ३४० मतदाता कायम छन् । निर्वाचन आयोगले १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार