रामकुमारी झाँक्रीको गृह जिल्लामै नेकपा एसको रित्तो हात

१२ पालिका रहेको गुल्मीमा नेपाली कांग्रेस र नेकपा माओवादीलाई भागवण्डा मिलाउँदा नेकपा एस, जसपा तथा राष्ट्रिय जनमोर्चालाई भागवण्डा नमिलेपछि असन्तुष्ट बनेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले गुल्मीका अधिकांश स्थानीय तहका अध्यक्ष तथा प्रमुखका उम्मेदवार टुंग्याएपनि गठबन्धनमा रहेका तीन दललाई भाग नपुगेपछि असन्तुष्ट बनेका हुन् ।

धुर्कोट गाउँपालिकामा कांग्रेस माओवादी दुवै दलको दाबी रहेको कारण उम्मेदवार टुंग्याउन ढिलाइ भएकोमा अन्ततः माओवादी कांग्रेसलाई छाड्न सहमत भएको छ ।

यो सँगै माओवादीले अन्य चार स्थानीय तहमा आफ्ना उम्मेदवार अघि सार्दै छ । मालिका गाउँपालिकामा देवीराम अर्याल र रुरु गाउँपालिकाको अध्यक्षमा यदु ज्ञवालीको नाम माओवादीले टुंग्याइसकेको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा पनि माओवादीले आफ्नो उम्मेदवार अघि सार्दै छ । कांग्रेसले धुर्कोट नदिएर मदाने गाउँपालिकाको नेतृत्वका माओवादीलाई दिएको जनाएको छ । मदानेमा माओवादीको तर्फबाट बुद्धि जिसी र बेगम चन्दको दाबी छ ।

अहिले माओवादीको भागमा परेका चार पालिकामा अघिल्लो पटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । धुर्कोटमा अहिले पालिका प्रमुख माओवादीका भूपाल पोखरेल रहेकाले पनि यहाँ माओवादीले दाबी गरिरहेको छ तर कांग्रेसले अघिल्लो पटक नै माओवादी र कांग्रेसको गठबन्धन हुँदा कांग्रेसलाई दिने सहमति भएकाले कुनै हालतमा नछाड्ने नेता महेन्द्र भण्डारीले बताएका छन् ।उनलाई यहाँबाट कांग्रेसले सर्वसम्मत पालिका अध्यक्षका रूपमा अगाडि सारेको छ ।

नेकपा एसका सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला भएकाले पनि नेकपा एसले यहाँबाट एक स्थानमा आफ्नो उपस्थिति खोजेको थियो भने अघिल्लो पटक उपप्रमुख जितेको जनमोर्चाले पनि दाव गरेको थियो । जसपाले १२ पालिका रहेका जिल्लामा आफ्नो उपस्थिति नै नभए गठबन्धनको अर्थ नहुने भनदे असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

साना दलहरूको असन्तुष्टिका बीच कांग्रेस माओवादीले बाँडफाँड गरे पनि धुर्कोटको विवादका कारण प्रदेशस्तरीय संयन्त्रमा जिल्लाको विवाद पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार