सिन्धुपाल्चोकमा गठबन्धन संकटमा, काँग्रेसले थाल्यो एमालेसँग वार्ता

नेपाली कांग्रेस सिन्धुपाल्चोकले दलको केन्द्रीय नीतिविपरीत एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धनमा संकट पैदा भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न चरणमा वार्ता गरेकोले गठबन्धन धरापमा परेको हो ।

गठबन्धनको बैठक छोडेर कांग्रेसले एमालेसँग गोप्य वार्ता चलाइरहेको छ । आफूलाई आठसिट राखेर एमालेलाई चारसिट दिने कांग्रेसको पुरानै योजनामा छलफल चलिरहेको बताइएको छ । कांग्रेस र एमालेको गोप्य वार्तामा एमालेलाई मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिका, पाँचपोखरी थांपाल र त्रिपुरासुन्दरी गाउँपालिका दिने कुरा चलेको छ ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १२ स्थानीय तहमध्ये चार सिटमात्रै दिनसकिने अडान कायमै राखेकोले ६ वैशाखयता नेताहरु एकै ठाउँमा जुट्न सकेका छैनन् । माओवादी केन्द्र र समाजवादीले १२ मध्ये ६ स्थानीय तह लिएर भागबण्डा गर्ने बताएका छन् । तर, कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि बैठक बस्न नसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार