५०५ दिनसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्ति

यूकेका चिकित्सकहरूले सम्भवतः सबैभन्दा लामो समयअवधीसम्म कोभिडबाट सङ्क्रमित बिरामीको विवरण सार्वजनिक गरेका छन्।उनीहरूले एकजना सङ्क्रमितको शरीरमा ५०५ दिन अथवा १६ महिनाभन्दा बढी समयसम्म परीक्षणहरूमा पुष्टि हुने स्तरमा कोरोनाभाइरस कायम रहेको देखिएको बताएका छन्।

नाम सार्वजनिक नगरिएको उक्त बिरामीको अन्य स्वास्थ्य समस्या पनि भएको र सन् २०२१ मा निधन भएको बताइएको छ।लन्डनका चिकित्सकहरूले लामो समयसम्म रहने यस्तो सङ्क्रमण विरलै देखिने बताएका छन्।

प्राकृतिक रूपमा नै धेरैजसो मानिसको शरीरबाट भाइरस निमिट्यान्न हुने भए पनि सो बिरामीको हकमा उनको रोगप्रतिरोधी क्षमता एकदमै कमजोर भएको बताइएको छ।विज्ञहरूले यस्ता सङ्क्रमणको अध्ययन गरेर कोभिड र यसका जोखिमहरूका बारेमा थप जानकारी प्राप्त गर्न सकिने बताएका छन्।

ती बिरामीलाई सन् २०२० को शुरूतिरै कोरोनाभाइरस सङ्क्रमण भएको थियो। उनलाई कोभिडको लक्षण थियो र पीसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो। ती व्यक्ति अर्को ७२ सातासम्म परीक्षण र उपचारका लागि अस्पताल आउनेजाने गरिरहे। सो समयावधिमा उनलाई ५० पटक परीक्षण गरियो र प्रत्येक पटक नतिजा पोजेटिभ आयो।

किङ्स कलेज लन्डन र एनएचएस फाउन्डेसन ट्रस्टले ती परीक्षणको विस्तृत अध्ययन गर्दा त्यो एउटै सङ्क्रमण भएको पत्ता लागेको हो।ती बिरामीलाई एन्टिभाइरल औषधि दिइए पनि सङ्क्रमणमुक्त हुन नसकेको बताइएको छ।यो अवस्था लङ् कोभिड पनि भनिने दीर्घकालीन कोभिड भन्दा फरक हो। दीर्घकालीन कोभिडमा भाइरस शरीरबाट हट्छ तर लक्षणहरू बाँकी रहन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार