काँग्रेस,माओवादीका कार्यकर्ताले पनि सुर्यमा भोट हाल्छन् : एमाले नेता रिजाल

यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक दलहरु चुनाव केन्द्रित छलफल र प्रचारप्रसारमा व्यस्त छन् । यो पटकको स्थानीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन बीच कडा टक्कर हुने लगभग निश्चित छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी जसपा, राष्ट्रिय जनमोर्चा गरी ५ दलीय गठबन्धनले यो पटकको चुनावमा नेकपा एमालेलाई पराजित गर्ने गरी तयारी गरेका छन् । उनीहरुको मुख्य प्रतिस्पर्धी एमाले रहेको छ । अर्कोतिर, नेकपा एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गरेको छ । यो पटकको स्थानीय चुनावमा राप्रपा नेपाल र नेपाल परिवार दल एमालेको चुनाव चिन्ह सुर्यबाट प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमाले पनि चुनावी कार्यक्रमा व्यस्त छ ।

यस्तो अवस्थामा नेकपा एमालेले चुनावी तयारी कसरी अगाडी बढाएको छ ? राप्रपा नेपाल र नेपाल परिवार दललाई कसरीसँगै लगेर जान्छ ? तालमेलको विषयमा के हुँदै छ? भन्ने विषयमा केन्द्रि रहेर नेकपा एमालेका नेता प्रचार विभाग उपप्रमुख विष्णु रिजालसँग गरिएको कुराकानी :

गठबन्धनसँग चुनाव लड्नुपर्ने अवस्था आएपछि तपाईहरु अत्तालिनुभएको छ भनेर गठबन्धनका नेताहरु भनि रहेका छन् । परिस्थीति हेर्दा त्यस्तो पनि देखिएको छ , यस्तो अवस्थामा स्थानीय तह निर्वाचनको तयारी कसरी अघि बढिरहेको छ ?
हामी अरु पार्टी भन्दा धेरै पहिलेदेखि नै चुनावको तयारी र प्रचार–प्रसारमा लागेका थियौं । निर्वाचन केन्द्रित रहेर सातै प्रदेशमा स्थानीय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गरेका छौं । करिब ३ हजार अगुवा कार्यकर्तालाई प्रशिक्षित गरेर निर्वाचनका लागि तयारी गरेका छौं । अर्को कुरा गठबन्धनसँग हामी अत्तालिएका छैनौं । बरु सत्ता गठबन्धन हामीसँग डराएको छ । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर उहाँहरु पाँच दल मिलेर चुनावमा जान खोज्दै हुनुहुन्छ । यो भ्यागुताको धार्नी कति पुग्छ, पुग्दैन थाहा छैन । कार्यकर्ताहरु उहाँहरुका दास मात्र होईनन् । विवेक प्रयोग गर्छन । हामीले गरेका कामको मूल्यांकन गर्छन । र हामीलाई भोट हाल्छन् । हामी रफ्तारमा अगाडी बढेका छौं । हामी निर्णय गर्ने अन्तिम चरणमा प्रवेश गरेका छौं । हामी मजबुत छौं । हामी सम्पूर्ण रुपले निर्वाचनका लागि तयार भएका छौँ । कसैसँग डराएका छैनौं ।

गठबन्धनसँग नडराएको भए मण्डलेहरुलाई हातै जोडेर गठबन्धनका लागि आव्हान गर्नुपर्ने ? अख्तियारले डामेकाहरुको सहकार्यबिना चुनावमै जान नसक्ने अवस्था कसरी आयो ?
यहाँले भनेको राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सहकार्यलाई हो भने हामी चुनावी गठबन्धन गरेका छैनौं । हामीले उनीहरुको चुनाव चिह्न सेयर गरेर गठबन्धन जस्तो चुनाव लड्ने होइन । हामी उहाँको चुनाव चिह्नमा चुनाव लड्दैनौ । उहाँको प्रभाव भएको स्थानमा एमालेको सुर्य चिन्हमा चुनाव लड्न दिएका हौ । यो नितिगत र पार्टी गत ढंगले भएको गठबन्धन पनि होइन । यो तालमेल हो । यो सत्ता गठबन्धन जस्तो स्वार्थ , र अराजनीति गठबन्धन जस्तो होइन । हामीले चिह्न दिएको मात्रै हो । उहाँहरु आउनु भयो हामी स्वागत गयौं । यसलाई गठबन्धन भन्न मिल्दैन ।

तपाईलाई लाग्दैन यो चुनावमा माओवादी, नेकपा एस र राष्ट्रिय जनमोर्चासहितले रुखमा मत मागेर हिडनुपर्ने अवस्था छ । तर ७० प्रतिशत कम्युनिष्ट मतको पक्षमा एमाले एक्लै उभिएको भए पार्टी थप मजवुत बनाउन सक्थ्यो ?
माओवादी केन्द्र र एकीकृत समाजवादी काँग्रेसमा रुपान्तरण भईसकेका छन् । कम्युनिष्ट पार्टीलाई समाप्त गर्नका लागि कम्युनिष्टकै नाममा उनीहरु नेपालको कम्युनिष्ट आन्दोल ध्वस्त गर्न खोज्दैछन् । कम्युनिष्टको सरकार ढाल्ने, कम्युनिष्ट पार्टी विभाजन गर्ने । आफैले यथास्थीति वादी र बुर्जुवा भन्ने गरेको नेपाली काँग्रेसलाई नेता मान्ने, काँग्रेसको नेतृत्वमा सरकार बनाउने, नेपाली काँग्रेसको नेतृत्वमा चुनाव लड्ने भन्ने वित्तिकै उहाँहरुमा कम्युनिष्ट भन्ने नैतिकता सकियो । शान्तिपूर्ण राजनीतिमा लागिरहेको कम्युनिष्ट पार्टीेले निर्वाचनलाई वर्ग संघर्षको उच्चतम रुप ठान्छ । युद्धमा भएको भए लडाई नै बर्ग संघर्षको उच्चतम रुप हुन्थ्यो । तर अहिले शान्तिपूर्ण राजनीतिमा छौँ ।बर्ग संघर्ष मूखरित गर्न निर्वाचन आवश्यक छ । जब उहाँहरु काँग्रेससँग मिल्नु भयो त्यति बेला नै उहाँहरुको बर्ग संघर्ष सकियो । उहाँहरु स्खलित भइसक्नु भयो । उहाँहरु सैद्धान्ति मान्यताबाट च्युत भैसक्नु भएको छ ।कुनै बेला सग्लो थियो भनेर रुखबाट झरेको मेवा एमालेले सम्झीएर बस्दैन् । जो हाम्रो एजेण्डामा सहभागी हुन्छन्, हाम्रो चुनाव चिन्हमा जो लड्छ त्योसँग मात्रै हामीले तालमेल गर्छौ ।

यहि अवस्थामा चुनाव भयो भने त गठबन्धनले एमालेलाई धुलो चटाउने अवस्था देखियो । कतै चुनाव चुनाव भनेर गल्ती गरिएछ भन्ने त अझै भएको छैन नी ?
हामीलाई त्यस्तो कदापी हुँदैन । कुनै पनि राजनीतिक दल निर्वाचनबाट भागेर कहाँ जान्छ ? निर्वाचन भन्दा सुरक्षित ठाउँ कहाँ छ ? कि भूमिगत हुनु पर्यो कि चुनाव बहिस्कार गर्नु पर्यो ।शान्तिपूर्ण राजनीतिक गरेको दल निर्वाचनबाट भाग्ने भन्ने हुँदैन । नेकपा एमाले एक्लै निर्वाचन लड्न तयार छ । गठबन्धनको भ्यागुताको धार्नी पुग्दैन । जनता विवेकी छन् । हाम्रा पक्षमा छन् । हामीले राम्रो काम गर्दा गर्दै सत्ता च्युत गरियो । यो कुरा सम्पूर्ण जनतालाई थाहा छ । यो परिस्थितीमा निर्वाचन हामीले माग गरेर गल्ती गरेका छैनौं । निर्वाचन संवैधानिक व्यवस्था हो । पाँच वर्षमा निर्वाचन हुनुपर्छ, संविधानमा लेखिएको छ । हामीले चुनावमा हारिन्छ कि जितिन्छ भन्दा नि संविधान र देशले जित्नु पर्छ । एमाले कहिल्यै निर्वाचनबाट भाग्दैन ।

अघिल्लो चुनावमा एमालेको पक्षमा व्यापक जनमत थियो । स्थानीय सरकारमार्फत जनताका अपेक्षा पुरा नहुदाँ अहिले यो असन्तुष्टिमा बदलिएको छ । जनतालाई आश्वस्त पार्ने के–कस्ता एजेण्डा बोकेर चुनावमा जाँदै हुनुहुन्छ ?
जनतामा देखिएको असन्तुष्टिलाई सम्मान गर्नुपर्छ । जनतालाई विकास र समृद्धिको चाहना धेरै छ । कार्यसम्पादन राम्रो होस् भन्ने जनतामा छ । साधन स्रोतको कमी, कोभिड लगायतका विषयका कारणले हामीले प्राप्त मात्रमा सेवा दिन सकेनौं । तर केहि भएको छैन भन्ने चाँहि होईन । धेरै राम्रो काम भइरहेको छ । जनताको चाहना अनुसार विकास गरेका छौं । तर त्यो जनताले अपेक्षा गरे जति नहुन पनि सक्छ । हामीले ती कमीकम्जोरीहरुलाई सच्चाएर जान्छौं । जनताको सेवा गर्छौ । पार्टी विभाजनले जनता निराश छन् । हामी सबैलाई मिलाएर अगाडी बढ्छौं । जनताको विचमा गल्ती गरेका छैनौ । जनताले हामीलाई विश्वास गर्छन् ।

सत्तारुढ दलहरु, निर्वाचन आयोग सबै चुनावको तयारीमा व्यस्त छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि हिजो मात्रै कुनैपनि हालतमा निर्वाचन सर्दैन भन्नु भयो ? तर तपाईहरुले निर्वाचन सर्ने षड्यन्त्र भइरहेको छ भन्नु भएको छ ? निर्वाचन सार्ने षडयन्त्र हुँदै भन्ने किन लागेको तपाईहरुलाई ?कस्ले गर्दै छ, यो षडयन्त्र ?
सत्तारुढ दलका नेताहरु निर्वाचनदेखि डराउनु भएको छ । पहिले पनि उहाँहरु निर्वाचन गर्ने पक्ष हुनुहुँदैनथ्यो । नेकपा एमाले र जनताको दबावका कारण सरकार निर्वाचन गर्न तयार भएको हो । त्यो भन्दा पहिलो सत्तारुढ दलहरुद्वारा भाडाका वकिलहरु लगाएर निर्वाचनको विरोध गर्न लगाइयो । सर्वोच्चमा मुद्धा हालियो । विभिन्न प्रकारका षडयन्त्र भयो । निर्वाचन एकै चरणमा गर्न सकिदैँन भन्ने कुतर्क गरियो । गठबन्धनका कतिपय नेताहरु चुनाव हुन्छ हुन्न भनेर संशय पैदा गरेका छन् । त्यसैले आंशका गरेको छ । पराजित हुन्छौ भन्ने मानसिकता छ । यस्ता खालका कुनै पनि क्रियाकलापलाई सहँदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार