प्रत्येक जिल्ला अस्पताललाई एक करोड दिने कर्णाली सरकारकाे निर्णय

पाँच जिल्लामा एक एक सय बेड थप्ने

कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम नियन्त्रणका लागि सबै जिल्ला अस्पताललाई एक/एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आवश्यक अक्सिजन शिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै प्रदेश सरकारले यसबाहेक प्रदेश विपद कोषबाट प्रदेश अस्पताल कालागाउँलाई एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड, चौरजहारी अस्पताल रुकुमलाई एक करोड, मेहेलकुना कस्पताल सुर्खेतलाई पचास लाख, दैलेख अस्पताललाई पचास लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यसका लागि प्रदेश सरकारले प्रदेश विपद कोषमा पचास करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् । यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।

पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने
कोरोना संक्रमितको संख्या बढ्दै गए पछि पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने गरी तयारी अघि बढाएको छ । कालीकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तिव्र गतिमा भइरहेको सरकारले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख राहत
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार