काँग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा नेताहरूको जोड

नेपाली काँग्रेसका नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसका अवसरमा स्थानीय निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसमा अधिकांश नेताले थपिएका नयाँ मतदाताको समर्थन बटुलेर एक्लै निर्वाचनको गन्तव्यमा जान सकिने जनाएका हुन् ।

काँग्रेस उपसभापति धनराज गुरुङले घरका खेतालालाई घरभित्र थन्क्याएर बाहिरका खेताला खोज्ने काम भइरहेको बताए । उनले भने “अहिलेको निर्वाचनमा काँग्रेसले ५१ सिट होइन ५१ प्रतिशत ल्याउने गरी तालमेलभन्दा एजेन्डामा जोड दिनुपर्छ ।”

काँग्रेस महामन्त्री गगनथापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताउँदै गठबन्धनबाट भोलिका दिनमा धोका हुनसक्नेतर्फ आजै सोच्नुपर्ने बताए । गठबन्धनलाई अन्यथा नलिए पनि विगतका घटनाबाट पाठ सिक्नुपर्ने उनले बताए । महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय भए पनि गठबन्धन नगर्दा केही ठाउँमा कम सिट जिते पनि निर्वाचित भएका ठाउँमा भविष्य बनाउने गरी चुनावी मैदानमा जानुपर्नेमा उनको जोड थियो ।

चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा रहेको जनाउँदै उनले पार्टीको निर्णयअनुसार अहिले सबैले आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिनुपर्ने बेला रहेकाले निर्वाचन लगत्तै नेविसङ्घको कार्यसमिति कस्तो बनाउने भन्नेबारे छलफल सुरु गर्ने उल्लेख गरे । काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेसले यसअघि सरकारमा तालमेल गरे पनि निर्वाचन भने एक्लै लडेको स्मरण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा समेत एक्लै अघि बढ्नुपर्नेमा जोड दिए ।

नयाँ मतदातालाई काँग्रेस बनाउन नसके पार्टी कमजोर हुने भन्दै उनले नेपाली काँग्रेस कसैको वैशाखीको मद्दतभन्दा आफ्नै बल र जनताको भरोसामा निर्वाचनमा होमिनुपर्ने बताए ।

त्यस्तै काँग्रेस नेता मीनेन्द्र रिजालले पहिला काँग्रेस एक हुनुपर्नेमा जोड दिए । हरेक वडा तथा पालिकामा एक मात्र उम्मेदवार बनाएर अघि बढे अधिक सिट जित हात पार्न सकिने जनाउँँदै उनले अरूसँग तालमेत गरेर निर्वाचन जित्ने रणनीतिभन्दा काँग्रेस नै एक ढिक्का भएर अघि बढे जनमत बटुल्न समस्या नरहेको प्रष्ट पारे ।

त्यस्तै कार्यक्रममा सहभागी अन्य नेताहरूले समेत नेकपाको भूमिकालाई कमजोर नबनाए लोकतन्त्र नै सङ्कटमा पर्ने जनाउँदै काँग्रेसले काँग्रेसलाई भोट हाल्न मिल्ने वातावरण बनाउनमा जोड दिएका थिए

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार