‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता-२०७८ मा ‘सेनाको चेली’ नामक वृत्तचित्र उत्कृष्ट स्थान हासिल गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालाले ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७८’, ‘नेपाली सेना फोटो प्रतियोगिता-२०७८’, ‘सिपाही २०२२’ फोटो तथा विभिन्न प्रदर्शनी-२०७८ आयोजना गरेको थियो ।

१२ वर्षे सशस्त्र द्वन्द्वमा सैनिक भाइ र विद्रोही दिदीको मुख्य कथामा आधारित वृत्त चित्रमा दोहोरो भिडन्तमा आफू अपाङ्ग र श्रीमान मारिएपछि विक्षिप्त बनेकी दिदी र भाइबीचको सम्बन्ध बिग्रदै जान्छ ।

वर्षौपछि दिदीको हातबाट तिहारको टीका लगाउन आएका भाइसँग दिदी रुष्ट बन्छिन् । कर्तव्य पालनको क्रममा गोली चलाउन आफू बाध्य रहेको र हरेक सिपाहीले उक्त जिम्मेवारी बहन गर्नुपर्ने भाइको बाध्यता सुनेपछि दिदी भाइबीच सम्बन्ध सुधार हुन्छ ।

त्यस्तै, कोभिड सङ्क्रमणका बेला सैनिकले खेलेको भूमिकामा आधारित ‘सेता मलामी’ लघु चलचित्र दोस्रो भएको छ । आमा गुमाएकी तथा बुवा सैनिकको जागिरमा व्यस्त रहँदा एक्लो महसुस गरेकी बालिकाको कथामा आधारित ‘डोल्मा’ वृत्त चित्रले तेस्रो स्थान हासिल गरेको छ ।

मङ्गलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजिक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

समारोहमा उत्कृष्ट फोटो प्रतियोगिता अन्तर्गत सैनिक तथा गैर-सैनिकतर्फ पाँच जना र सैनिकतर्फ १० फोटोग्राफर पुरस्कृत भएका छन् । नेपाली सेनाले २०२४ सालदेखि वार्षिक रुपमा प्रकाशन गर्दै आएको सिपाही अङ्क-२०७८ र शिवपुरी- २०२२ मा उत्कृष्ट लेखनतर्फ तीन-तीन जनालाई पुरस्कार प्रदान गरिएको छ ।

सेनाले विभिन्न तालिम तथा समारोहमा सहभागी भएर उत्कृष्ट कला प्रर्दशनी गर्ने विभिन्न युनिटका प्रतिनिधि तथा फोटो उत्कृष्ट फोटो सङ्कलन गर्ने सैनिक कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ । सेनाको इतिहास र महत्व उजागर गर्ने उद्देश्यले जनसम्पर्क तथा सूचना निर्देशनालयले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार