मुख्यमन्त्री पोखरेलको नियुक्ति बदर र शपथ रोक्न माग गर्दै चार दलको धर्ना

नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ । बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित चार दलका सांसदहरु धर्नामा बसेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । तर, विपक्षीले यसलाई गैर संवैधानिक भन्दै सच्याउन माग गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक फकरुदीन खानले पोखरेललाई पुनस् मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै नियुक्ति बदर र शपथ रोक्न धर्नामा बसेको बताए । पोखरेललले आफ्नो पक्षमा रहेका भनेकामध्ये एकजना सांसदले माओवादी केन्द्र रोजेको, एकजनाले राजीनामा दिएका र दुईजनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको उनले बताए ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरिसकेका छन् । ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ । विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन् । सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार