लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेको बिज्ञप्तीमा उल्लेख छ । पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । सोही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

यस्तै एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै लुम्बिनी प्रदेशसभा सदस्य विमला माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएको थियो । वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी थिइन । एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरकी थिइन ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्विनीमा सांसदको अंकगणितिय खेल सुरु भएको थियो । त्यस्तै लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार