लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य

लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । विपक्षीको निवेदनको आधारमा आजदेखि विशेष अधिवेशन बैठक बस्ने भनिएको थियो । तर बैठक बस्नुअघि नै मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि बैठक नै नबसी अन्त्य भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो । प्रदेश प्रमुखको पत्र आएपछि प्रदेश सभा सदस्यहरुले बोलाएको विशेष अधिवेशन मुख्यमन्त्रीको सिफारिसमा अन्त्य गर्ने प्रक्रिया नमिलेको भन्दै सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखसँग छलफलका लागि गएका थिए । यद्यपि प्रदेश प्रमुखले त्यसलाई विषय नबनाउन आग्रह गरेपछि अधिवेशन अन्त्यको सूचना मध्यान्ह साढे १२ मा मात्रै टाँसिएको हो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनी पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार